जनावरको टोकाईलाई ख्यालठट्टा नसम्झौँ…

काठमाडौँको एक पर्यटकीय क्षेत्रमा घुम्न जाँदा बाटोमा भेटेको कुकुरलाई एक किशोरले बिस्कुट दिएछन् । सो कुकुरले हातमा टोकेछ तर घाउ खासै ठूलो थिएन । त्यसो हुनाले रेबिज विरुद्धको खोप लगाइएन र लगाउन आवश्यक ठानिएन । तर झन्डै दुई महिनातिर रेबिजको क्लासिकल लक्षण अर्थात् हावा र पानीदेखि डराउने देखा पर्न सुरु भयो । काठमाडौँको एक अस्पतालमा जँचाउँदा रेबिज भएको जानकारी दियो । घर फर्केर साथीहरूलाई आफूलाई रेबिज पो भएको रहेछ भनेर जानकारी दिए । फेरि स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना गरिएको छ ।

Tata

यो एक बिरामीको आफन्तले रेबिज विरुद्धको खोप लगाउन अस्पताल आउँदा लेखकसँग गरेको कुराकानी हो । नेपालमा हाल खोप यथेष्ट र निःशुल्क हुँदा हुँदै पनि रेबिज लागेर कसरी मृत्युवरण गरिरहेका छन् र गर्दैछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । सो मृत्युवरण गरेका रेबिज बिरामी उच्च शिक्षा अध्यनरत विद्यार्थी थिए । यसबाट शिक्षित भएता पनि रेबिज रोगलाई कसरी बेवास्ता गरिदैछ भन्ने पनि देखाउँदछ ।

GCI COLLEGE

बर्सेनि, रेबिजबाट मृत्यु हुनेको सङ्ख्या घट्नुको सट्टा बढेको तथ्याङ्कले देखाउँछ । वास्तवमा, यसै कारणले गर्दा पनि यो लेखकले लामो समयदेखि रेबिज विरुद्धको अभियानलाई विभिन्न माध्यमबाट थालनी नै गरेको थियो, जुन अहिले पनि जारी छ । रेबिजलाई बेवास्ता गरिएको उच्च घातक सङ्क्रामक रोगको रूपमा पनि लिने गरिन्छ ।

Laxmi sunrise bank

कोभिड १९ को तेस्रो लहर सुस्ताउँदै गर्दा जनावरको टोकाइबाट घाइते हुनेहरूको सङ्ख्याले भने ह्वात्तै उचाइ लिएको देखिन्छ । त्यसो त, बर्सेनि रेबिजको कारणले औसतमा झन्डै दुई दर्जनले अस्पतालमा ज्यान गुमाउने गरेको देखिन्छ । नेपाल भरिको सङ्ख्या जोड्ने हो भने यो भन्दा बढीको मृत्यु रेबिजको कारणले भइरहेको हुन सक्दछ ।

Shivam Cement

नेपालमा अधिकांश कुकुर अनि स्यालको टोकाइबाट मानिसको मृत्यु रेबिजबाट हुने गरेको देखिन्छ । तर लेखकले नेपालमा पहिलो पटक बिरालोको टोकाइबाट पनि रेबिज लागेर मृत्यु भएको फेला पारेको थियो । सङ्क्रमित जनावरले टोकेपछि सामान्यतया एकदेखि तीन महिनामा लक्षण देखिने गर्दछ । तर लेखकले धेरैजसो बिरामीमा छ देखि आठ महिनामा लक्षणहरू विकास भएको देखेको छ । तर घाउ धेरै गहिरो, घाँटी भन्दा माथि वा हातका औँलामा छ भने रेबिजको लक्षणहरू केही हप्ताभित्रै देखिन पनि सक्ने देखेको छ । टोकेको ठाउँ वरपर झमझमाउने, ढाडको तल्लो भागमा अधिक पीडा हुने, आक्रामक र विचलित हुने, हावा तथा पानीदेखि तर्सिने जस्ता क्लासिकल लक्षण देखिने गर्दछ । यसको निदान लक्षण तथा जनावरले टोकेको आधारमा गरिन्छ ।

Nabil bank

पङ्क्तिकारले वर्षौंदेखि गरेको अब्जरभेशनको आधारमा नेपालमा रेबिज निरन्तर देखिनुमा केही मुख्य कारण पत्ता लगाएको छ । गाउँतिर कसैलाई स्वस्थ समस्या भए पहिले औषधी पसलमा जाने चलन छ र त्यहाँ दिएको परामर्शमा विश्वास पनि गर्दछन् । अस्पताल नहुँदा यो उनीहरूको बाध्यता पनि हो । कतिपय औषधी पसलहरूले दिएको गलत परामर्शको कारणले पनि मृत्युवरण गर्नु परेको प्रशस्त उदाहरण छन् । तसर्थ औषधी पसलमा काम गर्नेहरूलाई पनि समय समयमा रेबिज रोग सम्बन्धी तालिम दिन सके धेरैको ज्यान जोगाउन सकिनेछ ।

टोक्ने कुकुर वा जनावर सानो भए रेबिज सङ्क्रमण सर्न पनि सक्दछ भन्ने धेरैलाई लागेको देखिँदैन । तर पङ्क्तिकारले धेरै मानिसलाई कुकुरको सानो छाउराले टोक्दा पनि रेबिज भई मृत्युवरण गरेको विगतमा धेरै देखिसकेको छ । त्यस्तै टोकेको घाउ सानो हुँदा खोप लगाउन पर्दैन भन्ने भ्रमले पनि रेबिज लाग्ने गरेको देखिन्छ ।

घाउ धेरै र गहिरो, घाँटी भन्दा माथि वा हातका औँलामा छन् भने रेबिजको इम्युनोग्लोबुलिन खोप लगाउनु पर्दछ । केही वर्ष अगाडि बहुला स्यालले टोक्दा घाउ धेरै र गहिरो भएकाहरूले खोप लगाएको भएता पनि रेबिज इम्युनोग्लोबुलिन नलगाउँदा केहीले मृत्युवरण गर्नु परेको थियो । केही दिन अगाडि टेकु अस्पतालमा भर्ना भएको बिरामीको हत्केलामा टोकेको र रेबिज विरुद्धको खोप लगाएको भए पनि  रेबिज इम्युनोग्लोबुलिन नलगाउँदा मृत्यु हुन पुगेको थियो । हालै सरकारले हरेक प्रदेशमा रेबिज इम्युनोग्लोबुलिनको व्यवस्था गरेको भनेको छ, जुन स्वागतयोग्य पनि छ । तर यसको यथेष्ट जानकारी र प्रचारको आवश्यकता भने अझै खड्किएको देखिन्छ ।

टोक्ने जनावर १० दिनभित्र मर्‍यो, हरायो, टोक्ने जनावरमा रेबिजका लक्षणहरू देखिएको प्रमाणित भए रेबिज विरुद्धको खोप अनिवार्य लगाउनु पर्दछ । मांसाहारी जङ्गली जनावरले टोकेमा, बहुला जनावरको र्‍याल आलो घाउ भएको भागमा लागेमा, स्याहार गर्दा रेबिज लागेको गाईभैंसीको मुखमा हात हालेमा, रेबिज लक्षणयुक्त व्यक्तिले टोकेमा वा आँखामा पर्ने गरी थुकेमा, रेबिज बिरामीको जुठो खाएमा पनि रेबिज विरुद्धको खोप अनिवार्य लगाउनु पर्दछ ।

अन्तमा, नेपाललाई ‘रेबिज फ्री’ देशको कल्पना गर्ने हो भने माथि उल्लेखित कमी कमजोरी र गलत धारणा तथा खोप लगाउनुपर्ने अवस्थाको बारेमा सर्वसाधारणलाई राम्रो जानकारी हुन आवश्यक हुन्छ । रेबिज सम्बन्धी कमजोरी र गलत धारणा देशअनुसार फरक पनि हुन सक्दछ । तसर्थ रेबिज सम्बन्धी निर्देशिका बनाउँदा यस्ता कमी कमजोरी र गलत धारणा सम्बोधन गर्ने गरी विकास गरे मात्र नेपाललाई ‘रेबिज फ्री’ को लक्ष्यतिर अग्रसर गराउन सहज हुनेछ । होइन भने घाइतेमा रेबिजका लक्षणहरू देखिन सुरु भए स्वास्थ्यकर्मी लडाइँमा हतियार बिनाको सिपाही जस्तै हुन बाध्य हुनेछन् । किनभने रेबिजको विशेष औषधी (एन्टी भाइरल)  हालसम्म विकास भैसकेको छैन ।                

लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

Leave a Reply