कुकुर कसरी पाल्ने ?

नेपालमा प्राचीन कालदेखि नै घरको रेखदेख तथा सुरक्षाका निम्ति कुकुर पाल्ने चलन छ । अहिले कुकुर पाल्ने प्रयोजन केही बदलिएको छ । विश्व सन्दर्भमा हेर्ने हो भने कुकुरलाई अन्तरिक्षमा पठाउने, जासुसीमा लगाउने, अपराधी पत्ता लगाउन तथा खेलकुद आदिमा प्रयोग गरिन्छ ।  सुँघ्ने शक्ति अत्यधिक हुनु र अल्ट्रा साउन्ड पनि सुन्न सक्ने क्षमता भएकाले नै कुकुरलाई सबै काममा प्रयोग गरिएको हो । यति हुँदाहुँदै पनि कुकुरलाई घरपालुवा जनावरका रूपमा सबैभन्दा बढी रुचाइन्छ । 
पहिले कुकुरको उचित सरसफाइ खानपिन तथा स्याहार-सुसारमा खासै समय लगाइँदैनथ्यो । हिजोआज कुकुरलाई सभ्य र महत्वपूर्ण जनावरका रूपमा लिइन्छ । कुकुरलाई आˆनै छोराछोरीभन्दा बढी माया गरेर पाल्ने र तिनलाई सुखदुःखको साथी मान्ने मानिसहरू पनि अहिले प्रशस्तै पाइन्छन् । उनीहरू कुकुरका लागि लाखौं रुपैंयाँ खर्चिन पनि तयार हुन्छन् । नेपालमा कुकुर पाल्ने रुचि भएका मानिसको संख्या निरन्तर बढिरहेको छ । विशेषतः राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रहरूमा महँगा कुकुर किनेर पाल्नेहरू प्रशस्त छन् । उनीहरू राम्रा जातका विदेशी कुकुरका छाउरा-छाउरी ३५ हजारदेखि ५० हजारसम्म हालेर किन्न हिचकिचाउँदैनन् । जसले कुकुरको दैनिक खुराक तथा औषधोपचारबाहेक नै कुकुरलाई आज्ञाकारी बनाउन मात्र १५ हजारदेखि २० हजार सम्म खर्च गर्छन् । यतिका महँगा कुकुर पाल्ने रुचि भएकाहरूको मन एउटा कुकुरले मात्र जित्न सक्दैन । उनीहरू कम्तीमा २ देखि ५-६ वटासम्म कुकुर पाल्छन् ।
    हाम्रो देशमा विदेशबाट ल्याइने ठूला जातका कुकुरमा एल्सेसिअन -जर्मन सेपर्ड), डोबरम्यान, ल्याब्राडर, बक्सर, ड्याल्मेसियन, ग्रेट डेन, बुलडग र घरभित्रै पालिने स-साना जातका कुकुर जापानी स्पिट्स, ल्हासा आप्सो आदिको माग अत्यधिक छ । माग पूरा गर्न नेपालमा केनल क्लबहरू पनि प्रशस्त मात्रामा खुल्न थालेका छन् । नेपालमा करिब ४५ वटा उच्च जातका ६-७ हजारभन्दा बढी कुकुर भित्रिसकेका छन् । यस्ता कुकुर विशेष गरी यहाँका केनल क्लबहरूमार्फत भारतबाट झिकाइन्छन् भने कतिपय विदेश गएका नेपालीहरूमार्फत भित्रिएका छन् ।
 केनल क्लब भनेको घरपालुवा कुकुर बिक्री वितरण गर्ने, दर्ता गर्ने, तिनीहरूको वंश, जात, विशेषता आदि पहिचान गरी रेकर्ड राख्ने, उच्च जातका कुकुरको वंश संरक्षण गर्न प्रजनन् आदि गराउने ठाउँ हो जहाँ कुकुरसम्बन्धी पुस्तक, पत्रपत्रिका प्रकाशन हुनुका साथै कुकुरसम्बन्धी अनुसन्धानको काम पनि गरिन्छ । त्यसैले अहिले आएर कुकुरपे्रमीहरू केनल क्लबमा दर्ता भएका कुकुरबाट जन्मिएका छाउरा-छाउरीहरू किन्छन् । त्यहाँ दर्ता भएका कुकुरको जात, वंश, शारीरिक अवस्था एवं अन्य सम्पूर्ण विवरण केनल क्लबको रेकर्डमा राखिएको हुन्छ । यस्ता केनल क्लबले घरपालुवा कुकुरलाई तालिम दिने, प्रजनन् गराउने, उपचार गर्ने, कुकुरका मालिक केही समयका लागि घर छाडेर बाहिर जानुपर्दा केही दिनका लागि स्याहार गरिदिने आदि काम गर्छन् ।
केनल क्लबहरूमा नेपाली कुकुर पनि प्रशस्तै पाइन्छन् जसमध्ये भोटे कुकुर -टिवेटन म्यास्टिफ) लाई धेरैले रुचाइएको पाइन्छ । भोटे कुकुरको माग विदेशमा पनि अत्यधिक छ । नेपालमै ५ हजारदेखि ७ हजारसम्म पर्ने भोटे कुकुर अमेरिका तथा युरोपमा ५ सयदेखि २ हजार डलरमा बिक्री हुन्छन् ।
जतिसुकै राम्रा र महँगा कुकुर किने पनि पाल्ने व्यक्तिले कुकुरलाई समय नदिने, दिनभर बाँधेर राख्ने वा खोरमा थुनेर राख्ने र रात परेपछि छोडिदिने, समय-समयमा आवश्यक मात्रामा खानेकुरा नदिने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान नदिने जस्तो पुरानो नेपाली चलनमा भने अझै पनि खास परिवर्तन आएको देखिँदैन । जसले गर्दा कुकुर बिरामी पर्ने, घिनलाग्दो देखिने, मानिसले चाहेजस्तो नहुने अर्थात् आज्ञाकारी नहुने जस्ता समस्या उत्पन्न हुन्छन् । यस्ता समस्याले गर्दा कुकुरलाई अन्यत्र लगेर छोडिन्छ, यो नै बजारमा भुस्याहा कुकुरको संख्यामा वृद्धि हुनुको प्रमुख कारण हो तसर्थ कुकुर पालिसकेपछि त्यसलाई उचित स्याहार-सुसार गर्नु आवश्यक छ ।
मानिसले कुकुर पालिसकेपछि उसलाई पनि आˆनै आदेशअनुसार चलाउन खोज्नु स्वाभाविक हो तर कुकुुरलाई आज्ञाकारी बनाउने क्रममा कतिपय मानिसले अनावश्यक रूपमा कुटपिट गर्ने, खाना नदिने आदि गरिरहेका हुन्छन् । यसो गर्दा कुकुरमा नकरात्मक असर पर्छ र ऊ अझ अटेरी हुन्छ । त्यसैले यो कुरामा निकै बुद्धि पुर्‍याएर काम गर्नु उचित हुन्छ । समयमै वशमा लिन सकिएन भने कुकुर अटेरी बन्दै जान्छ । धेरै बेरसम्म खोरमा राख्ने, बाँध्ने आदि काम गर्दा पनि कुकुरको बानी बिग्रन्छ ।
कुकुर पाल्न चाहनेहरूले कुकुर किनिदिएर मात्र हुँदैन, त्यसको उचित हेरचाह, स्याहार-सुसार एवं संरक्षण पनि गर्न जान्नुपर्छ । कुकुरप्रेमिहरुले प्रत्येक दिन केही समय कुकुरसँग खेलेर हेलमेल बढाउने, तालिम दिने, निश्चित समयमा निश्चित खाना ख्वाउने र खेल्ने, उफ्रन दिने आदि काम गर्नुपर्छ । विभिन्न प्रकारका सरुवा रोग डिस्टेम्पर, प्यारा इन्रा इन्ˆलुएन्जी लेप्टो स्पाइरोसिस आदिबाट बचाउन बेला-बेलामा सुई दिनुका साथै हरेक तीन-तीन महिनामा जुकाको औषधि ख्वाउनुपर्छ । कुकुरलाई रोग लागिसकेपछि औषधोपचार गर्न निकै झन्झटिलो र महँगो हुन्छ । त्यसैले कुकुर बिरामी भएपछि उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु उत्तम हो ।

फाइल फोटो

Leave a Reply